
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गर्न बैठक बस्न लागेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
केन्द्रीय समिति बैठक अघि हिजो पार्टी कार्यालय सानेपामा दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए।



पौडेल पक्ष र कृष्ण प्रसाद सिटौला पक्षले भ्रातृ संगठनहरुलाई पनि परिचालन गरेर थप आन्दोलनका कार्यक्रम तय गर्नुपर्नेमा सभापति देउवालाई दबाब दिएको छ।
पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन्। देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन्।








