
बुटवल ।
नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। मध्यावधि निर्वाचनको समर्थनमा बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए।



भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको राष्ट्रिय संकट नयाँ पुस्ताका लागि अवसर भएको बताएका छन् । आगामी वैशाखमा हुने निर्वाचनले पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा पुग्नका लागि सहयोग गर्ने उल्लेख गरे ।
पोखरेलले लिपुलेक सहितको नेपालको चुच्चे नक्साको विषयले संसदमा प्रवेश पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पारिएको आरोप लगाए । आफ्नै पार्टीका नेताहरुबाट प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि संसद विघट गरिएको प्रस्ट्याउँदै उनले भने ‘नेपालको चुच्चे नक्कासाको विषयले जब संसदमा प्रवेश पायो, प्रधानमन्त्रीलाई घेराबन्दी सुरु भयो, त्यसैका कारण आज यो परिणाममा पुग्नु पर्यो ।’

नेपालको गुमेका भुभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री माथि घेराबन्दी गरिएको पोखरेलको भनाइ छ। भेलामा नेकपा ओली पक्षका नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गरेका छन् ।









