
पाल्पा ।
तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो ।
स्थानीय तहले आफ्नो फाइदाको लागि व्यवसायी तथा सवारी धनीहरुलाई मर्का पर्ने गरी पूर्वाधार सडक उपभोग शुल्कको नाममा मनोमानी रुपमा राजमार्ग प्रवेशमा लिइरहेको शुल्क विद्यमान ऐन कानुन विपरीत भएको भन्दै उद्योग वाणिज्य संघ गुल्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगर सरकारको ध्यानाकर्षण गराएको थियो ।



सडक डिभिजन कार्यालयले पनि बर्तुङ्ग–होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक राष्ट्रिय राजमार्ग आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दै नगरपालिका र जिल्ला प्रशासनमा पत्राचार गरेको थियो ।
सडक डिभिजनको प्राप्त पत्र अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकालाई वर्तुङ्ग–तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग राष्ट्रिय राजमार्ग र होलाङ्गदी मोडदेखि धरमपानी हुँदै ढुंगाखानीसम्म सहायक मार्ग भएकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्क नउठाउन निर्देशन दिइएको छ ।









