
काठमाडौं ।
भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।



मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ ।
१८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा पन्छिजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
रोग नियन्त्रणमा सघाउन पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।
सतर्कता अपनाउन चिकित्सकको सुझाव
चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।
भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो।
सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले आग्रह गरेका छन् ।
विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।








