
भैरहवा ।
रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा धनगढी र ओषिश विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीले साई ग्लाबेल एकेडेमी र ओषिशले रुपन्देही–११ लाई पराजीत गरेको हो ।
सिद्धार्थ रङ्गशालामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २२१ रन बनाएको थियो । उसका लागि कप्तान नरेन भट्टले ५० बल खेल्दै ९९ रन बनाए । उनी सतक बनाउन १ रनले चुके । यस्तै, सन्दीप विष्टले ४५ बलमा ५८ रन बनाए ।



बलिङमा साई ग्लोबलका ताहिर खान र सैजाद आलमले समान २र२ विकेट लिए । जवाफमा साई ग्लोबल २३ ओभरमा अलआउट हुँदै १२९ रन मात्रै बनायो । उसका लागि आषिस रोकाले ४१ र सचिन अर्यालले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा धनगढीका रजत राना ३ र भुपेश जोशीले समान ३र३ विकेट लिए । खेलमा नरेश भट्ट म्यान अफ द म्याच भए ।
यस्तै,
आजको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाई ४६ रन मात्रै बनायो । उसका लागि समिर अली खानले ११ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा ओषिसका सार्थक धितालले ४ तथा निश्चल श्रेष्ठले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओषिसले ८ दशमलव ३ ओभरमा १ विकेट गुमाई ५० रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सम्राट भुसालले १९ रन बनाए । बलिङमा मनिष थापाले १ विकेट लिए ।
८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने वेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।








