
पाल्पा ।
पाल्पामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियानको चौथो दिन आइतबारसम्ममा १३ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट एक हजार ३ सय १४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
माघ १५ गतेदेखि सुरु गरिएको खोप अभियानमा चौथो दिनसम्ममा खोप लगाउने व्यक्ति बढेको देखिन्छ ।पहिलो दिन ५० जना,दोस्रो दिन ४ सय १५ जना, तेस्रो दिन ३ सय ९० जना र चौथो दिन ४ सय ५९ जनाले खोप लगाएका हुन् ।



पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल, रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी,एम्बुलेन्स चालक,नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
पाल्पाका लागि २ हजार २ सय जनालाई पुग्ने गरी खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।खोप प्राप्त गरेका केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए ।









