
काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा १३ वटै रिटमाथिको आजदेखि सरकारका तर्फबाट बहस हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। हिजो सबै निवेदकको बहस सकिएको ढकालको भनाइ छ।



इजलासमा प्रधानन्यायाधीश सहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्लप्रधान र तेजबहादुर केसी छन्। आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका थिए।
यस्तै, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले पनि बहस गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ।








