
काठमाडौं ।
नेपाली कांग्रेसको विभिन्न १३ वटा भातृ संगठनले आज एकसाथ ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले निर्धारण गरेको विरोधका कार्यक्रम अन्तर्गत आज भातृ संगठनहरुले प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ । जसअन्तर्गत आज महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघलगायतका १३ वटा भातृ संगठनले एकसाथ प्रदर्शन गर्न लागेका हुन् ।



आज हुने प्रदर्शनमा व्यापक जनसहभागिताका लागि १३ वटै भातृ संगठनले आइतबार एक संयुक्त विज्ञप्ति निकाल्दै अपिल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै आन्दोलन गरिरहेको काँग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रमहरु गरिसकेको छ ।








