
काठमाडौं ।
कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ। १० दिनअघि सुरु भएको खोप अभियान आज सम्पन्न हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई गरी शुक्रबारसम्म एक लाख ७१ हजार ४८६ जनालाई खोप दिइएको छ । ७७ वटै जिल्लामा २०१ बुथबाट खोप प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।



शुक्रबारसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६, बागमतीमा ५९ हजार ९४२, गण्डकीमा १७ हजार ३१५, लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप प्रदान गरिएको छ।
भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभिशिल्ड खोप पहिलो चरणमा प्रदान गरिएको हो। पहिलो चरणमा बचेको खोप दोस्रो चरणमा प्राथमिकताको आधारमा प्रदान गरिने मन्त्रलयले जानकारी दिएको छ।








