
बुटवल ।
सामाजिक न्याय र परिवर्तनका मुद्दा अझै नटुंगिएको लुम्बिनी प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले बताएकी छन्।
सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले शनिबार बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले सामाज रुपान्तरणको अभियान अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्।



आफूँ कम्लहरी हुँदा धेरै पीडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तिको आन्दोलनको नेतृत्व गर्दै प्रदेशसभाको यात्रा तय गरेको उनले सुनाइन्। संघर्षबिना अधिकार स्थापित हुन नसक्ने भन्दै ‘प्रदेशसभाबाट लैंगिकमैत्री कानून बनाउन प्रतिबद्ध रहेको बताईन।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दासमेत लैंगिकमैत्री वातावरण नभएको बताइन्। महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको उनको भनाइ छ।
गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यहार फरक भएको बताए।









