
दाङ ।
नेपाल सरकारले पश्चिम राप्ती नदीको पानीलाई आधार मानेर सिँचाइ र जलविद्युत उत्पादनको लागि नौमुरे बहुउद्देश्यीय आयोजना सञ्चालनको लागि प्रक्रियागत काम अघि बढाएको छ ।
लामो समयपछि सरकारले यस आयोजनालाई गति दिन थालेको हो । सुरुमा भारत सरकारले नौमुरे जलविद्युत आयोजना बनाउने सम्झौता भएको थियो। पहिलो संविधानसभामा यसको विरोध भएपछि आयोजनाको काम अघि बढ्न सकेको थिएन ।



अहिले यो आयोजनालाई नेपाल सरकारले आफै अघि बढाउन थालेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग काठमाडौँले यस आयोजनालाई अघि बढाएको छ । नौमुरे बहुउद्देश्यीय आयोजना अन्तर्गत नौमुरे जलविद्युत आयोजना, लामाताल जलविद्युत आयोजना र सुराईनाका जलविद्युत आयोजना गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ।
यी आयोजनाको बारेमा वातावरण प्रभाव मूल्यांकन अध्ययनको काम भैरहेको छ । राप्ती नदीको पानी प्रयोग गरेर नौमुरे बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने प्रस्ताव सरकारले गरेको हो । लुम्बिनी प्रदेशको प्यूठान जिल्ला भएर बग्ने माडी नदी र झिम्रुक नदी मिसिएर राप्ती नदी बनेको छ ।
बहुउद्देश्यीय आयोजना भित्र सुरुङ्ग मार्गबाट सिँचाइ सुविधा पुर्याउने देखि जलविद्युत आयोजना सञ्चालन गर्ने सम्मका योजना सरकारले प्रस्तावको रुपमा अघि बढाएको हो । तीन ओटा जलविद्युत आयोजनाको परिकल्पना गरिएको छ भने २८१.०४ मेगावाट विद्युत उत्पादनको लक्ष्य छ ।
प्यूठानको सरुमारानी गाउँपालिका–३ र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ७ र ८ को सिमानामा नौमुरे बाँध बनाएर प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं ३ मा विद्युतगृह निर्माण गरी २१८.३४ मेगावाट विद्युत उत्पादन गर्ने नौमुरे जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ ।

यस्तै शितगंगा नगरपालिका–७ अर्घाखाँचीको लामाताल गाउँमा रि–रेगुलेटेड बाँध बनाएर ८ मेगावाट विद्युत उत्पादन गर्ने लामाताल जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ ।
लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केही पानीको प्रयोग गरी अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका हुँदै सुरुङ् मार्फत अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। ११ र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ को सुराई खोलामा रहने विद्युतगृहबाट अधिकतम ५४।७ मेगावाट विद्युत उत्पादन गरीने सुराईनाका जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ ।
‘विद्युत गृहबाट निस्केको पानीलाई अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने लापे माथिको पहाड, लौरी सिताराको पहाड र धानखोला नजिक पहाडमुनी सुरुङ्ग बनाएर राप्तीको पानी सुराई खोलामा झार्ने योजना हो’, उनले आफ्नो लेखमा उल्लेख गरेका छन् ।
बहुद्देश्यीय जलाशयका कारण प्यूठान जिल्लको सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिका प्रत्यक्ष प्रभावित हुने सूचिमा छन् ।
यस्तै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका, भूमिकास्थान गाउँपालिका, मालारानी गाउँपालिका रहेका छन् । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका प्रत्यक्ष प्रभावित स्थानीय तहको सूचिमा रहेको छ ।
यसैगरी दाङ जिल्लाको राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका अप्रत्यक्ष रुपमा प्रभावित हुने स्थानीय तहको सूचिमा रहेका छन् ।









