
काठमाडौं ।
नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाने भएका छन्। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार उनी आज बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुग्नेछन्।
नेकपा विभाजन सम्बन्धी विवादबारे छलफल गर्न उनी आयोग जान लागेका हुन्। छलफलका लागि आयोगले नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले समय मागेको हुनाले छलफल हुन सकेको थिएन।



प्रचण्ड–नेपाल पक्ष भने त्यही दिन नभए पनि केही दिनपछि आयोग पुगेर आफू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गरेको थियो।अब आज प्रधानमन्त्री ओली आयोगमा गएर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्।
गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।








