
दाङ ।
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेको तिरतिरे जङ्गलमा सिकार खेल्न गएका दुई जनामध्ये एक जनाको बन्दुकको गोली लागेर ३९ वर्षीय इन्द्रबहादुर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।
दाजु इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सिकार खेल्ने क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको ज्यान गएको हो । जङ्गलमा दाजु–भाइ सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको खुल्न आएको भट्टले भन्नुभयो ।



घटनामा संलग्नलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।









