
बुटवल, माघ २९
पाल्पाका झपेन्द्र बहादुर जिसी लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनितिक सल्लाहकारमा नियुक्त हुनु भएको छ।
बिहिवार सम्पन्न लुम्विनी प्रदेशको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा पाल्पाका जिसीलाई नियुक्ती गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनु भयो ।
जिसीलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो । जिसी हाल नेकपा लुम्बिनी प्रदेशका सदस्य एवं प्रचार विभाग प्रमुख हुनु हुन्छ ।
त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्ति गर्ने निणर्य गरेको मन्त्री चौधरीले जानकारी दिनु भयो त्यसैगरी बैठकले कोरोना भाईरसको संक्रमणपछि थलिएको आर्थिक क्षेत्रलाई माथी उठाउन लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले आगामी चैत्र १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले गतवर्ष नै गर्ने भनेको लगानी सम्मेलन कोरोना महामारीका कारण रोकिएको थियो । मन्त्री चौधरीले दुईदिन सम्म हुने उक्त सम्मेलनले प्रदेशको मात्र नभई देशकै आर्थिक क्षेत्र चलायमान हुने विश्वास लिईएको बताउनु भयो ।
सम्मेलनका लागि प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सदस्य रहेको तयारी समिति गठन गरिएको भएपनि लगानी सम्मेलन कहां गर्ने भन्ने बारे तय नभईसकेको चौधरीले बताउनु भयो ।











