
काठमाडौं ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।



ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।








