
पश्चिम नवलपरासी ।
बर्दघाट नगरपालिका दुघ र अण्डामा आत्मनिर्भर बनेको छ। नगरपालिकाको पशुपक्षी शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार नगरपालिकामा उत्पादन भएको दुध नगरभित्र उपभोग गरी बाहिर निर्यात समेत हुने गरेको छ।
नगरपालिकामा २२७ वटा व्यावसायिक फर्म दर्ता गरी गाई भैंसी पालन भइरहेको छ। झण्डै २ हजार ५०० को संख्यामा दुधालु पशुको संख्या रहेको नगरको तथ्यांकमा उल्लेख छ। नगरमा दैनिक २३ हजार ५०० लिटर दुध उत्पादन हुने गरेको छ। जसमध्ये नगरपालिकाभित्र झण्डै १८ हजार ५०० लिटर खपत हुने र बाँकी पाँच हजार लिटर नगरबाहिर निर्यात हुने गरेको छ।



विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हरेक स्वस्थ्य व्यक्तिले एक दिनमा २५० मिलिलिटर दुध सेवन गर्नुपर्ने हुन्छ। २०६८ सालको जनगणनाअनुसार बर्दघाट नगरपालिकामा ७३ हजार ५०० जनसंख्या छ। यो जनसंख्यालाई दैनिक रुपमा १८ हजार ३७५ लिटर दुघ आवश्यक हुन्छ।
किसानले दैनिक रुपमा संगठित संस्था दुग्ध सहकारी र प्राइभेट डेरी मा दैनिक ११ हजार ५०० लिटर दुध संकलन गर्दै आइरहेका छन्। उक्त तथ्यांकअनुसार दुध बिक्रीबाट किसानको हातमा दैनिक ६ लाख ७० हजार रुपैयाँ पर्ने देखिन्छ मासिक रुपमा झण्डै २ करोडको हाराहारीमा आम्दानी हुने गरेको देखिन्छ।
बर्दघाट नगरपालिका अण्डा उत्पादनमा पनि आत्मनिर्भर देखिएको छ। नगरपालिकाभित्र अण्डा उत्पादनका लागि १८ वटा व्यावसायिक फर्म छन्। उक्त फर्ममा गरेर झण्डै ८० हजार अण्डा उत्पादन गर्ने कुखुरा रहेका छन्। जसमध्ये हाल ४० हजार कुखुराले मात्र अण्डा उत्पादन गर्ने गरेको तथ्यांकमा उल्लेख छ।

नगरपालिकाभित्र दैनिक ३० हजारवटा अण्डा उत्पादन हुने गरेको छ। वार्षिक एक करोड ९ लाख ५० हजारवटा अण्डा उत्पादन हुने गरेको छ। नगरपालिकामा वाषिएक ३५ लाख २८ हजारवटा अण्डा आवश्यक पर्दछ। यहाँका किसानले अण्डा बिक्रीबाछ वार्षिक करिब ११ करोड रुपैयाँ आम्दानी गर्दछन्।
नगरपालिका अण्डामा आत्मनिर्भर देखिए पनि अण्डा उत्पादन गर्ने कुखुराको चल्ला खरिद महँगो पर्ने र दानाको रेट पनि बढी पर्ने भएकोले अहिले पनि किसानले लागत अनुसार अण्डाको रेट पाउन नसकेको अण्डा उत्पादक संघ पश्चिम नवलपरासीका अध्यक्ष गोविन्द थापा बताउँछन्।
उनले किसानले उत्पादन गरेको अण्डा बिक्रीका लागि अन्यत्र लैजाँदा प्रहरीले अण्डा स्वस्थ्य भएको प्रमाण खोजेर अनावश्यक दुख दिने गरेको गुनासो गरे।









