
बुटवल ।
राष्टिय युवा संघका इन्चार्ज महेश बस्नेतले मुलुकको विकास र समृद्धिको लागि ओली नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् ।
ओली नेतृत्वको नेकपा नै पार्टीको मूल धार भएको र यही पार्टीले विकास र समृद्धिको एजेन्डालाई अघि बढाउन सक्ने भन्दै उनले कुनै भ्रम नपाली पार्टीको मूल प्रवाहमा आएर विकास र समृद्धिको अभियानमा साथ दिन आग्रह गरे ।



नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तिलोत्तमा १५ को युवा भेलालाई शुक्रबार संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बस्नेतले यस्तो बताएका हुन् । युवाहरुले सही विचार, सही बाटो र सही नेतृत्वको पहिचान गर्नुपर्नेमा जोड दिदै बस्नेतले राजनीतिको नयाँ मोड आउँदा गन्तव्यको पहिचान गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको नभै जनतामा अधिकार दिएको भन्दै उनले चुनावको घोषणा लोकतान्त्रिक कदम भएको बताउनुभयो ।अहिले कम्युनिष्ट आन्दोलन घृणामा परिणत हुने हो कि भन्ने खतरा उत्पन्न भएकाले युवाहरुले बेलैमा यसको पहिचान गरी आन्दोलनलाई सही दिशामा ल्याउनुपर्ने र सही पार्टी रोज्नुपर्ने बताउनुभयो ।
भेलामा बोल्दै नेकपा रुपन्देहीका प्रवक्ता एवं तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी एकतालाई पद र प्रतिष्ठाको अवसरका रुपमा प्रयोग गर्न खोज्दा अहिलेको अवस्था निम्तिएको बताए । कम्युनिष्ट आन्दोलनको मूल प्रवाहलाई जोगाएर लैजाने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ ।
कार्यक्रममा युवा नेता डोलराज बस्याल, तिलोत्तमा १५ का वडाध्यक्ष खेमराज गुरुंग, लिस्नु युवा क्लवका अध्यक्ष तीर्थराज मल्ल, कुमकुमारी गुरुंग लगायतले मन्तव्य व्यक्त गरेका थिए ।









