
कावासोती ।
देशमा कोरोना महामारी सुरु भए पछी क्वारेन्टाइन र अस्थायी कोभिड अस्पतालको रुपमा सेवा प्रदान गर्दै आइरहेको पुर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय आफ्नै लयमा फर्किएको छ ।
प्राकृतिक चिकित्सा पद्धति अनुसार बिरामीको उपचार गर्नेकाम फागुन १ गते शनिबार देखि सुरु भएको अस्पतालले जनाएको छ।
प्राकृतिक उपचार पद्धतिबाट विभिन्न रोगका बिरामीहरुको उपचार गर्दै आईरहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई देशमा कोरोना महामारी फैलिए सँगै २०७६ चैत्र ११ गते बाट क्वारेन्टाइन र २०७७ जेठ २४ गते देखि अस्थायी कोरोना अस्पताल बनाएर कोरोना संक्रमितको उपचार सुरु गरिएको थियो ।



देशकै उत्कृष्ट कोरोना अस्पतालको रुपमा ख्याति कमाएको यस अस्पतालबाट पुर्वी नवलपरासी सहित देशभरका ७ सय ८७ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।
प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरेको यस अस्पतालमा एक जना पनि संक्रमितले ज्यान गुमाउन नपरेको सापकोटाले बताए । सेवा शुरु गरिएको पहिलो दिन १२ जना बिरामीहरु उपचारको लागि अस्पतालमा आएका सापकोटाले वताए ।
स्थानीयले धनधान्यान्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको थियो ।









