
अर्घाखाँची ।
ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायामाझीले नौमुरे जलविद्युत् आयोजनाको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताएका छन्।
शितगंगा-६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री रायमाझीले वर्षौंदेखि निर्माण कार्य अलपत्र रहेको २४५ मेघावाटको नौमुरे जलविद्युत् आयोजना चाँडै पूरा हुने बताएका हुन् ।उनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै नौमुरे जलविद्युत आयोजनाको फाइल झिकाएर हेर्न थालेको समेत बताए।



मन्त्री रायामाझीले ठाडा अमराई र सन्धिखर्कमा निर्माणधीन दुई ठूला सबस्टेशन बनेपछि करिब साढे दुई महिनाभित्र अर्घाखाँचीमा पटकपटक बिजुली जाने समस्या अन्त्य हुने आश्वासन दिए।
जिल्लाको हरेक बिकासका काममा केन्द्रको मुख ताक्नु भन्दा स्थानीय‚ प्रदेश र केन्द्र तीनै तहका सरकारले आ-आफ्नो हैसियतअनुसार मिलेर गर्नुपर्ने सुझाव दिए।
लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले ठूला विकासका योजना पूरा हुन वर्षौ लाग्ने भन्दै जनतालाई विकासको फल चाख्न धैर्य गर्न आग्रह गरे।









