
बुटवल ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् । रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका व्यक्त गरेका हुन् ।
निर्वाचन आयोगलाई काम गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको साँठगाँठमा कार्यतालिका ल्याउन ढिलाई गरिएको हुनसक्ने आशंका व्यक्त गरे । संसद विघटन गरेको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने बताउँदै देउवाले निर्वाचन आयोग नै अदालतको निर्णय कुरेर बसेको भन्दै आलोचना गरे ।



देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताए । उनले भने, ‘ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन् । कुर्सीका लागि उनीहरुबीच झगडा भइरहेको छ ।’
कार्यक्रममा बोल्दै काँग्रेस नेता बालकृष्ण खाणले सरकारले एकपछि अर्को गल्ती जाँदा जनतामा चरम निराशा छाएको बताए ।









