
काठमाडौँ ।
सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ ।
त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकलाई समयमै खोप सुनिश्चित नगरेर उपेक्षा गरेको आरोप लाग्दै आएको छ ।



‘हामीले फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्ध खोप अभियान सुरु गर्ने तयारी गरेका छौं,’ स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले भने, ‘७५ वर्ष माथिकालाई अनिवार्य खोप लगाइनेछ । प्रशस्त खोप उपलब्ध भए ५५ वर्ष माथिकालाई लगाइनेछ ।’
मुलुकमा हालसम्म ५५ वर्ष माथिका व्यक्ति कोभिडबाट बढी प्रभावित देखिएका छन् । नेपालमा ७५ वर्ष माथिका नागरिकको संख्या करिब ६ लाख छ । सरकारले खोपको उपलब्धताका आधारमा फागुन २३ देखि खोप लगाउने उमेर समूह चयन गर्ने नीति लिएको छ । ‘
फागुन अन्तिम सातादेखि समुदायमा सुरु गरिने खोप अभियानमा सम्भवतः अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप नै उपयोग गरिनेछ । हाल यो खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ ।
स्वास्थ्य अधिकारीहरूले कोभ्याक्सअन्तर्गत अक्सफोर्ड अस्ट्राजेनेका खोप तीन प्रतिशत जनसंख्याका लागि करिब–करिब २२ लाख ५६ हजार मात्रा दुई सातापछि आउने दाबी गरेका छन् । यो खोप आएपछि अभियान अझ तीव्र पारिने उनीहरूको भनाइ छ । यसबाहेक नेपाल सरकारले भारत सरकारसँग किन्ने तयारी गरेको छ ।
खोप अभियानमा व्यापक जनसंख्यालाई सहभागी गराउन कोभिसिल्डबाहेक अन्य खोपसमेत हुन सक्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गरेका छन् ।








