
काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ। सभापति शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे छलफल हुने जनाइएको छ।



नेपाली कांग्रेसको महाधिवेशन यहि फागुनमा हुने भनिए पनि कोरोना भाइरसको महामारीका कारण त्यो सम्भव भएन।
क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनलाई लिएर अन्यौल कायम छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नु पर्ने बताउँदै आएको छ।
तर सभापति देउवाले भने आउँदो भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो। तर कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले थप गरेको अवधि पनि यहि फागुन १९ मा सकिँदै छ, अर्थात उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ।
संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्ष भित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने उल्लेख छ।
देउवाले सोही व्यवस्था अनुसार आउँदो भदौमा महाधिवेशन गर्नु पर्ने प्रस्ताव गरेका हुन्। पौडेल पक्ष भने त्यसमा सहमत छैन।








