
बुटवल।
बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।
फागुन ७ गतेदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले बुधबार दिउसो बुटवलको कालिका–मानवज्ञान माविमा पत्रकार सम्मेलन गरि रनिङ शिल्ड प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।



एन्फा टेक्निकल सेन्टर देवीनगरमा फागुन ७ गते शुक्रबारदेखि १० गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए । उक्त प्रतियोगिताको शुक्रबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन शत्रमा बुटवलमा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले झाँकीसमेत देखाउने गरि भव्य तयारी भइरहेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव विष्णुहरि ज्ञवालीले जानकारी दिए ।
नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुको सहभागिता हुने उनको भनाइ छ । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई अन्य प्रतियोगितामासमेत सहभागि हुन पाउने उनको भनाइ छ ।
प्रतियोगिताका लागि विद्यागत समितिहरु गठन गरि तयारी भइरहेको अध्यक्ष काउचाको भनाइ छ । प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैयाँ बजेट रहेको उनले बताए ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन् ।








