
काठमाण्डाै ।
आज राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् ।



फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।
दिवसमा ५ सय ९५ जना कैदीबन्दी रिहा
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।
लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो।
यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिएकी हुन्।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो।








