
बुटवल ।
रुपन्देहीका पर्यटन व्यवसायीहरूले सीमानाका बेलहियालाई सहज बनाउन माग गर्दै चरणबद्ध आन्दोलन गरेका छन् । गत महिना लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएर नाका सहज बनाउन माग गरेका उनीहरूले सुनुवाइ नभएको भन्दै सीमा क्षेत्रमा धर्ना सुरु गरेका छन् ।
साताव्यापी आयोजना गरिएको धर्नाबाट पनि माग सम्बोधन नभए नाका अवरोध गर्ने सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष सिपी श्रेष्ठले बताए ।‘स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया सरकारले नाम मात्र खोलेको भन्दै सवारीसाधन आवागमनसहितको व्यवस्थाका साथ सीमा सुचारुको माग गरेका छौँ,’ सानका अध्यक्ष श्रेष्ठले भने ।



बजार व्यापार–व्यवसाय सबैतिर सहज भए पनि होटेल व्यवसाय लकडाउनजस्तै अवस्थामा रहेको मौर्य होटेलका सञ्चालक रामबहादुर कोहिरीले बताए । आइतबारसम्म कुनै व्यवस्था नभए दशगजाबाट नै मालबाहक गाडीसहित सम्पूर्ण होटेल बन्द गर्ने सानका अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।
कोरोना महामारीका कारण सीमानाकाहरू एक वर्षदेखि बन्द छन् । नाका सहज नहुँदा होटेल व्यवसायी संकटमा परेको लुम्बिनी होटेल एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।
कोरोना जोखिम कम भएको र भारतलगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडानसमेत सुरु भइसकेको अवस्थामा पनि सीमानाका सहज रूपमा सञ्चालन हुन नसक्नु दुःखद भएको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
विरोध कार्यक्रममा सिद्धार्थ होटेल एसोसिएसन नेपाल सान, सोसाइटी अफ ट्राभल्स एन्ड टुर्स, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, लुम्बिनी होटेल एसोसिएसन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, पश्चिमाञ्चल यातायात, लुम्बिनी मनी चेन्जर, बेलहिया गाउँ समाज, गृहलक्ष्मी समूह, बेलहियाका स्थानीय, सुनौली व्यापार मण्डल, नेपाल–भारतका उद्योगी–व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन् ।









