
काठमाडौं ।
सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए।



उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ। विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ।
‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो। यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ। भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ।
केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त खोप केही हप्तामा आउने उनले बताए। सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ।
यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।








