
काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउनुभएको हो ।चन्दले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’सरकारले यस अघि नै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । यसअघि खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार गएर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेट्नुभएको थियो । सरकारले दुई वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।











