
बुटवल ।
अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले रूपन्देहीलाई देशकै विकासको नमूना जिल्ला बनाउने बताएका छन् ।
सिद्धार्थ केबलकारको आइतबार बुटवलको देउरालीडाँडामा शिलान्यास गर्दै पौडेलले ठूलो विकासका आयोजनाहरू अगाडि बढेकाले विकासको ‘रोल मोडल’ जिल्लाका रूपमा रूपन्देही स्थापित हुन लागेको दावी गरे । उनले भने,‘रूपन्देही विकास सिक्न र पढन जानुपर्ने पाठशाला बन्दैछ । भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन् ।’



अर्थमन्त्री पौडेलले विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे । केबलकारले रूपन्देहीको विकासमा बहु आयामिक महत्व राख्ने बताए । ‘केबलकारका लागि सरकारले गर्नुपर्ने सहयोग जतिसुकै बेला पनि गर्न तयार छ,’ पौडेलले भने, ‘तर समयमै योजना सम्पन्न हुनुपर्छ । यसले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिनेछ ।’
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरू हुने बताए । पौडेलले मृत्यु मार्गको उपमा पाएको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा बन्ने भनिएको सुरुङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने बताए ।
पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्ने दावी गरे । उनले आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ अगाडि सरकार अगाडि बढिरहेको जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जीतगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर यहाँ अगाडि बढे यहाँको पर्यटन विकासले ठूलो फड्को मार्ने बताए । उनले बुटवल आर्थिक र पर्यटकीय हबको रुपमा विकास हुने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केबलकारको लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता जनाए ।
आइतबार शिलान्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी २ किलोमिटर छ ।
केबलकार निर्माण र सञ्चालनपछि २५ केबलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिका अपेक्षा छ । केवलकार मनोकेवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरूपमा हिँड्नेछ ।
केबलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३।९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २।११८ हेक्टर क्षेत्रफल वनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ ।









