
बुटवल ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान भएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा आईतबार संघको सचिवालय परिषर बालमन्दिरमा रक्तदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ ।
रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । कार्यसमिति सदस्य भेषराज गैरहेको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा साधारण सदस्य उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो ।



रक्तदान गर्ने रक्तदाताहरुलाई त्यसै अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघले स्थापना दिवसको अवसरमा साँझ सचिवालयमा दीपावली कार्यक्रम समेत राखेको छ भने स्थापना दिवसकै अवसरमा पूर्वअध्यक्ष सम्मान तथा बुटवल माध्यमिक बिद्यालयलाई डेस्क बेन्च प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।
बहुउद्देश्यीय भवन निर्माणको लागि खरिद गरिएको जग्गामा बोर्ड अनावरण :
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारको चम्किपुरमा खरिद गरेको जग्गामा बोर्ड अनावरण गरिएको छ ।
संघको ६८ औं स्थापना दिवसको अवसरमा उक्त जग्गामा आईतबार बोर्ड अनावरण गरिएको हो । संघले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि सेमलारको चम्किपुरमा ७ कठ्ठा जग्गा खरिद गरेको थियो । उक्त जगगामा संघका अध्यक्ष खिमबहादुर हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, कुशप्रसाद मल्ली, अर्जुनमान सैंजु र जीवनप्रसाद वझाले संयुक्त रुपमा बोर्ड अनावरण गर्नुभएको हो ।
त्यस अवसरमा संघका पदाधिकारी, कार्यससिमिति सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी, उद्योगी व्यबसायीको सहभागिता रहेको कार्यक्रम संयोजक प्रतिक पोखरेलले जानकारी गराउनु भयो ।
संघले लिएका लक्ष्य परिपूर्तिको लागि बहुउद्देश्यीय भवन निर्माण गरिने र त्यसमा बिशेषगरी कृषिलाई प्राथमिकता दिईने संघका अध्यक्ष हमालले जानकारी गराउनु भयो ।









