
बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनः स्थापना भएपनि देशमा अस्थिरता पैदा हुने खतरा रहेको उल्लेख गर्नु भएको छ । अहिलेको अवस्थाका लागि मुख्य रुपमा ओली नै जिम्मेवार रहेको बताउदै उहाँले भारतीय र अमेरिकी साम्राज्यबादी शक्तिले फाइदा उठाउने सम्भावना रहेको बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयां प्रकारको जटिलता आउन सक्ने बताउनु भयो ।



ओलीको गलत कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै पार्टी भित्रको विवादलाई ओलीले फेस गर्न नसकेका कारण देश संकटको अवस्थामा पुगेको बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो र विश्वासिलो बनाएको बताउनु भएको छ ।संसद पुनःस्थापर्ना गर्ने सर्वोच्च अदालतको फैसलालाई धन्यबाद दिंदै संसद पुनः स्थापनापछि देशमा नयां परिस्थिति पैदा भएको बताउनु भयो।
संसदको निर्णलाई ओलीले स्वीकार गरेर देशलाई अगाडी बढ्नका लागि वातावरण बनाइ दिंदा देशको हित हुने महामन्त्री सिंहको तर्क छ । भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा शैन्य शक्ति भित्राउन खोजेको उहाँले आरोप लगाउनु भयो ।
अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै अब बन्ने सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले त्यो सरकारलाई समर्थन र बिरोध गर्ने बताए ।









