
काठमाडौं ।
देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ । मास्कको समुचित प्रयोग नगरिनु र भौतिक दूरीमा बेवास्ता गर्ने प्रवृत्ति बढेकाले जोखिम बढ्न थालेको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख ७३ हजार ९ सय ८४ जनामध्ये २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । यसरी हेर्दा कुल संक्रमितमध्ये १.०१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।



शुक्रवार देशभर १ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ३६ जना रहेको छ । शुक्रबार ३ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या कम भए पनि जोखिम कायमै रहेकाले सचेत रहन आग्रह गरे । उनले भने, ‘मास्कको समुचित प्रयोग, भौतिक दूरी कायमलाई निरन्तरता दिनुपर्छ । जोखिम अझै घटेको छैन ।’सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए ।
पछिल्लो एक सातालाई आधार मान्दा केही दिनयता दैनिक संक्रमण हुने दर १ सयको हाराहारीमा रहेको छ ।हाल देशभर ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।








