
काठमाडौं ।
फागुन २३ गते शुरू हुने प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको संसदीय दलको बैठक फागुन २२ गते बस्ने भएको छ ।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले २२ गते शनिवार संसदीय दलको बैठक बस्न लागेको जानकारी गराइन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा कसरी सामना गर्ने भन्ने विषयमा ओली पक्षले रणनीति बनाउन लागेको छ ।



ओली र सल्लाहकारले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरु संसद् फेस गर्ने बताउँदै आएका छन् । २३ गतेसम्म ओलीले राजीनामा नगरे दलहरू मिलेर प्रधानमन्त्रीलाई हटाउने प्रचण्डले बुधवार चेतावनी दिएका थिए ।
प्रधानमन्त्री ओलीले भने आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिँदै आएका छन् ।पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते शुरू हुँदैछ ।








