
बुटवल ।
रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्टिय मापदण्डको खेलकुद पार्क बन्ने भएको छ । तिलोत्तमा नगरपालिका–६ मा ६० हजार दर्शक क्षमताको खेलकुद पार्क बनाउन लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको खेलकुद पार्कको लागत १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
यो स्पोर्ट्स पार्कमा दक्षिण एसियाली खेलकूद (साफ) मा खेलाइने सबै खेल एकै साथ खेलाउन सकिने छ । नेपालमै पहिलो र नमुनाका रुपमा लिइएको खेलकुद पार्कको गुरुयोजना बिहीबार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा सार्वजनिक गरिएको छ । पार्क निर्माणका लागि बजेटको व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।



तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्कको गुरुयोजना अनुसार दश वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने स्पोर्टस पार्कमा आधुनिक र प्रविधियुक्त कभर्ड हल र स्टेडियम निर्माण गरिने भएको छ । स्पोर्टस पार्कमा साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र बोटिङ बाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ ।
राति र दिउँसोमा जुनसुकै समयमा पनि खेल्न मिल्ने गरी निर्माण हुन थालेको स्पोर्टस पार्कमा फुटवल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सिङ, साइकिलिङ, ड्राइभिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराते, खो खो खेल्न सकिने छ । त्यस्तै सटिङ स्विमिङ, एकास, टेबलटेनिस, तेक्वान्दो ,लन टेनिस, टेनिस, रेसलिङ, हुसु वेटलिफ्टिङ, टीटी लगायतका खेल खेल्न सकिने छ ।
क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर ललितपुरले तयार गरेको स्पोर्टस पार्कको गुरुयोजना इन्जिनियर सुनिल लम्सालले सार्वजनिक गरेका हुन् ।








