
पाल्पा ।
सरकारले फागुन २३ गते देखि समुदाय स्तरमा संचालन गर्न थालेको कोरोना खोप अभियान लाई सफल बनाउन स्थानिय तहहरु जुट्न थालेका छन् । पाल्पाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी सुरु गरेका हुन् ।
जिल्लाको निस्दी गाउँपालिका, माथागढी गाउँपालिका र रामपुर नगरपालिकाले फागुन २३ गते देखि सुरु हुने खोपको तयारीलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् ।
यस्तै निस्दी गाउँपालिकाले ७ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप लगाउने जनाएको छ । गाउँपालिकाले आगामी फागुन २३ देखि समुदायस्तरमा सञ्चालन गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको जनाएको छ ।



त्यस्तै जिल्लाको माथागढी गाँउपालिकाले पनि समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिड विरुद्धको खोप सञ्चालन गरी तयारीलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नो आठ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सञ्चालन गर्ने गरि तयारी अगाडि बढाएको हो ।
यस्तै रामपुर नगरपालिकाले पनि १० वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सञ्चालन गर्ने गरि तयारी थालेको नगरप्रमुख रमणबहादुर थापाले बताए । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकिएको नगर प्रमुख थापाले बताए ।
पाल्पाका अन्य स्थानीय तहरुले पनि खोप अभियानलाई तिव्रता दिएका छन् । स्थानीय तहहरुले ५५ वर्ष उमेर माथिका नागरिक, शिक्षक, चालक, सहचालक, पहिले छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीलाई लक्षित गरि खोप लगाउने तयारी गरेका हुन् । उनीहरुले नजिकैका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आमनागरिकलाई सुचित समेत गरेका छन् ।









