
बुटवल ।
तिलोत्तमा नगरपालिकामा आइतबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । नगरका सबै १७ वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।



वडा नं ५ को खोप केन्द्रबाट अभियानको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए ।उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गर्दै नगर प्रमुख घिमिरेले जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न सबैलाई आग्रह गरे ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले विश्व स्वास्थ्य संगठनले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरे ।तिलोत्तमामा चैत ३ गतेसम्म चल्ने अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउने अनुमान छ । अभियानको पहिलो दिन २ हजार ३७७ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।
खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग पुर्याएका छन् । हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको छ ।









