
काठमाडौं ।
प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिए । ‘पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो ।



बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।
सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ ।राष्ट्रपतिले यो पहलकदमीमार्फत मुलुकको बदलिएको राजनीतिक कोषलाई ट्रयाकमा ल्याएर दलबीच समझदारी कायम गर्दै एकताबद्ध ढंगबाट अघि बढ्ने लक्ष्य लिइएको बताइएको छ ।
पछिल्लो समय दलबीचको असमझदारी र राजनीतिक संवादहीनताको अवस्थाका कारण संसद् पुनस्र्थापना भएपछि संसद् सहज रूपमा सुचारु हुन सकिरहेको छैन । राजधानी दैनिक बाट








