
गुल्मी ।
गुल्मीमा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरिने भएको छ । जग्गा उपलब्ध गराई ब्यवस्थित ठाउँमा ब्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको लगत संकलन गर्न अन्तरक्रिया तथा छलफल गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम छलफल गरिएको हो ।



भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति गुल्मीले आयोजना गरेको कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले भूमिहिन सुकुम्वासीहरुलाई ब्यवस्थापन गर्न कठिनाई भइरहेको र हुने ब्यक्त गरेका थिए । सत्यवति गाउँपालिकामा वडाबीच विवाद हुदाँ आफ्नो जग्गामा बसेकाहरुले पनि लालपूर्जा नपाएको गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले जानकारी दिए । “गाउँपालिकाको अस्लेवा र ठुलोलुम्पेकको सिमा विवादका कारण त्यहाँका मगर बस्ती र दलित बस्तीहरुले लालपूर्जा पाएका छैनन् ।” गाउँपालिका प्रमुख ढकालले भने, आफ्नो जग्गा भएर पनि लालपूर्जा नदिनु त उनीहरु माथि अपराध भयो ।”
जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमले स्थानीय तहको सार्वजानिक जग्गामा सुकुम्वासी राख्न नपाइने भएकोले गाउँपालिकामा सरकारी जग्गा कम भएकोले उनीहरुको ब्यवस्थापनमा कठिनाई भइरहेको बताए । भूमिहिन सुकुम्वासीहरुलाई कुनै रकम उनीहरुले तिर्न नपर्ने गरी सुरक्षित ठाउँमा सार्ने र अब्यवस्थित तरिकाले बस्नेहरुले केही रकम तिरेर उनीहरुलाई सुरक्षित ठाउँमा सारिने भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति गुल्मीका प्रमुख टिकाराम ढकालले जानकारी दिए ।
स्थानीय तहका प्रमुखहरुले जोखिममा रहेका बस्तीहरुलाई ब्यवस्थापन गर्ने तर्फ जोड दिनुपर्ने आवश्यक रहेको बताएका थिए । सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूमिहिन थुप्रै समस्या भएकोले उनीहरुको समस्याको समाधानका लागि स्थानीय तहहरु अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सुकुम्वासीको ब्यवस्थापनमा स्थानीय तहहरु अन्योलमा रहेको बताए । भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति गुल्मीले बैशाख अन्तिम सम्म भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबास गर्नेहरुको तथ्याङ्क संकलन गरेर पठाउन अनुरोध गरेको छ ।









