
रोल्पा ।
धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको अभियोगमा रोल्पामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
परिवर्तन गाउँपालिका–६ इरिबाङको चाबाङस्थित घरनजिकै खोलामा मंगलबार राति वीरेन्द्रप्रकाश गिरीको हत्या गरिएको अभियोगमा बुधबार छिमेकी गाउँ तालाबाङबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार खोला हुँदै घर फर्किरहेका ३१ वर्षका गिरीमाथि खुकुरी प्रहार गरी घटनास्थलमै हत्या गरिएको थियो । घटनापछि परिचालित प्रहरीले घटनामा संलग्न भएको भनी माडी गाउँपालिका–३ का २२ वर्षका कमल घर्ती, ४३ वर्षका भीमबहादुर घर्ती र १४ वर्षका एक बालकलाई सिस्नेखोलाबाट पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीसमक्ष उनीहरुले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । तीन जनालाई पक्राउ गर्न घर्तीगाउँस्थित प्रहरी निरीक्षक सुधीरकुमार खड्का र इरिबाङ प्रहरी चौकीका नायब निरीक्षक धनबहादुर केसीको नेतृत्वमा प्रहरी परिचालित थियो ।
प्रहरी नियन्त्रणमा लिइएकाहरुबारे थप अनुसन्धान गर्ने र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।









