
अर्घाखाँची, चैत ५
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाकाले दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं- २ पोखराथोकमा सम्पन्न गरेको छ । गाउँपालिकाबाट वडा कार्यालय मार्फत् विनियोजित रकम सञ्चालित योजनाका सम्बन्धमा सार्वजनिक सुनुवाइ गरिएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले वडामा भएका हरेक योजनाको बारेमा जनताले जानकारी लिन पाउने र सूचना माग्ने अधिकार भएको बताउँदै वडामा विनियोजन भएको बजेटको काम पारदर्शी भएको बताउनुभयो । कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले गतवर्ष भन्दा यस वर्ष गाउँपालिकामा भएका योजनाहरुको काम तिव्र रुपले अगाडी बढेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले कार्यपत्र पस्तुत गर्दै ३५।४७ प्रतिशत वित्त प्रगती रहेको बताउँनुभयो । उहाँले वडा नं। २ पोखराथोकमा ४२ योजनाको सम्झौता रहेको र भुक्तानी पक्रियामा रहेका २१ योजना रहेको बताउँनुभयो । उहाँले गाउँपालिका भित्र कुनै पनि सेवाग्राहीलाई झन्झटिलो नहुनेगरी योजना सम्पन्न भई कार्यालयमा कागजपत्र पेश भएको ७ दिनमा भुक्तानी दिने बताउँनुभयो ।
कार्यक्रममा स्थानिय उपभोक्ता समिती तथा सरोकारवालाले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका इन्जिनीयर मोहराज पौडेल, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, कृषि शाखा नायव प्राविधिक सहायक दधिराम अधिकारीले जनताको गुनासाको जवाफ दिनुभएको थियो ।



कार्यक्रममा वडा अध्यक्ष नेत्रप्रसाद भट्टराईले वडामा भएका हरेक गतिविधीको निगरानी राख्न जनतालाई आग्रह गर्नुभयो । कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका प्रतिनिधी तथा कार्यक्रम सहजकर्ता मुक्ती न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय चन्द्रकान्त पौडेल, वडा सचिव गोविन्द विक लगाएतको उपस्थिती रहेको थियो ।









