
काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमबार बंगलादेश गएकी छन्।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणमा राष्ट्रपति भण्डारी बिहान त्यस तर्फ प्रस्थान गरेकी हुन् ।उनी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० विमान मार्फत ढाकाका लागि उडेकी हुन् । उडानअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोह गरेर बिदाई गरियो ।



विदाइ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। राष्ट्रपतिको सवारीका लागि शीतल निवासदेखि विमानस्थलसम्मको सडक खाली गराइएको थियो।
बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी बंगलादेश गएकी हुन् ।
बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरि मनाउँदैछ।यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए।








