
सल्यान ।
सल्यानमा गर्भपतन गराउने महिलाको संख्यामा बढिरहेको छ।
नेपालका मौजुदा कानुन तथा ऐनले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेसँगै सल्यानमा गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो।



स्वास्थ्य सेवा कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन मसान्तसम्म २ सय १५ जनाले गर्भपतन गराएका छन्। गत आर्थिक वर्षमा जम्मा २ सय ३३ जनाले गर्भपतन गराएका थिए।
स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले भने ‘गर्भपतन कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भएपनि पछिल्लो समय विकृति नै बन्न थालेको छ।’
चालू आर्थिक वर्षमा २० वर्ष मुनिका १० महिलाले गर्भपतन गराएका छन् भने २० वर्ष माथिका २ सय ५ महिलाले गराएका छन्। गत आर्थिक वर्षमा २० वर्ष मुनिका १४ र २० वर्ष माथिका २ सय १९ महिलाले गर्भपतन गराएका थिए।
सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण रहेको डिसीले बताए।









