
बुटवल ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको छ ।
भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिन थालेपछि नेपालमा संक्रमण फैलिन नदिन बेलहियामा पुनः हेल्थ डेस्कको स्थापना गरिएको छ । हेल्थ डेस्क स्थापनासँगै अब भारतबाट आउने सबैको ज्वरो नापेर मात्र प्रवेश दिइनेछ भने कोरोना संक्रमणको आशंका भएका व्यक्तिलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टिजेन किटबाट परीक्षण गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।



स्वास्थ्य कार्यालयकै पहलमा जिल्ला प्रशासन कार्यालय, सिद्धार्थनगर नगरपालिका र सामाजिक संघसस्थाको सहयोगमा सीमा क्षेत्रमा २ वटा टेन्ट राखेर ज्वरो नापेर मात्र नेपाल प्रवेश गर्न दिइने उनले बताए ।यसअघि गत वर्ष स्थापना गरिएका हेल्थ डेस्क कोरोना संक्रमण कम भएपछि हटाइएको थियो ।
रोजगारी र अन्य प्रयोजनको लागि भारत गएका नेपालीहरु घर फर्किन थालेकाले सीमा क्षेत्रमा उच्च सतर्कता बर्ढा संक्रमण नियन्त्रण गर्न स्वास्थ्य डेस्क पुनः स्थापना गरिएको गिरीले बताए ।
भारतका महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेश लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ ।संक्रमितको संख्या वृद्धि भएसँगै भारतका महाराष्ट्र, मध्यप्रदेश र गुजरातमा बुधबारदेखि रात्रीकालीन कफ्र्यू जारी भइसकेको छ ।









