
काठमाडौं ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित ५ जना पदाधिकारीको पदावधि मंगलवारबाट सकिएको छ । अध्यक्ष मैनालीसहित अन्य सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झाको ६ वर्षे कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन हुन पुगेको हो ।
अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारी ११ चैत २०७१ सालमा नियुक्त भएका थिए । जसमध्ये २ जना यसअघि नै उमेर हदका कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका ५ जना पदाधिकारी ६ वर्षे कार्यकाल सकेर मंगलवार एकैदिन आयोगबाट बिदा भएका हुन् ।



आयोगबाट बिदा हुनेक्रममा अध्यक्ष मैनालीले आफूहरू सो पदमा रहुञ्जेल गरेका विविध सुधारात्मक गतिविधिको संगालो ‘कार्यसम्पादनका ६ वर्षे उपलब्धि सार्वजनिक गरेका थिए । उनले आफूहरूको ६ वर्षे कार्यकाल लोकसेवा आयोगका लागि अत्यन्तै उपलपब्धिमूलक र फलदायी भएको बताए ।
मैनालीले अझै आफ्नो कार्यकालमा केही राम्रा र सुधारात्मक काम गर्न परामर्श दिँदादिँदै पनि लोकसेवा आयोगको परामर्श नमान्ने करीब १० वटा संस्थालाई लोकसेवाको कानूनी दायरामा ल्याउन बाँकी रहेको जानकारी दिए ।
पदाधिकारीको बिदाइ कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता तोयनारायण सुवेदीले यस आयोगकोे ६ वर्ष कार्यसम्पादन उत्कृष्ट रहेको बताए । सरकारले आयोगका पदाधिकारीको पदपूर्ति गर्न नसक्दा अब आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवा लगायतका सबै काम रोकिने भएका छन् । कानूनतः आयोगका अध्यक्षले अधिकार प्रत्यायोजन गर्ने व्यवस्था छैन ।
आयोगमा पदाधिकारी नभएपछि कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ भने विभिन्न समयमा लिएका परीक्षाको नतिजा प्रकाशनको कामसमेत रोकिएको छ । सचिव बढुवा सिफारिस प्रक्रिया रोकिँदा बढुवाको मुखमा रहेकाहरू मर्कामा परेका छन् । राजधानी दैनिकमा खबर छ ।








