
गुल्मी ।
गुल्मीमा भीडभाड, जुलुस र र्यालीमा प्रशासनले रोक लगाएको छ। छिमेकी देश भारतमा कोरोना संक्रमित संख्या बढेपछि सर्तकतास्वरूप जिल्लामा भीडभाड, जुलुस र र्याली गर्न नपाइने भएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालन गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। बैठकले फागु पूर्णिमा (होली) परिवारका सदस्यहरूबीच मात्रै मनाउन दिने निर्णय गरेको छ।



त्यस्तै, मास्क सबैले अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न, नियमित हात धुने व्यवस्था पालना गर्न गराउन पनि केन्द्रले अनुरोध गरेको छ। होटल, रेष्टुराँ, मदिरा बिक्री–वितरण र उपभोग लगायत व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ।
यातायात व्यवसायीहरूले सवारी साधनमा सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने र अनिवार्य माक्स तथा सेनिटाइजरको व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन्। सरकारी गैरसरकारी निजी क्षेत्र, विद्यालय, कलेजहरू, व्यवसायी तथा संघसंस्थाहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने निर्णय पनि भएको छ।
निर्माण व्यवसायीहरूले विदेशबाट कामदार ल्याउँदा अनिवार्य रूपमा एन्टीजेन टेष्ट गरी नेगेटिभ रिर्पोट आएकाहरूलाई मात्र निर्माण सम्बन्धि काममा लगाउने निर्णय गरिएको छ।









