
काठमाडौं ।
सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गर्न थालेको छ।
विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न थालेको हो।



यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए।
यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो।
बिमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रति सदस्यका दरले ७ सय बुझाउनु पर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रति सदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।
बोर्डले बिमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी तीन सय ७५ अस्पताललाई सूचीकृत गरेको छ। ती अस्पतालमा उपचार बिमा लागू गरेका परिवारका सदस्यले गराए एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन्।
बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बिमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए।
अहिले ६९ जिल्लामा बिमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बिमा कार्यक्रममा सहभागी रहेका छन्।
तीमध्ये १४ लाख ३० हजारले मात्र बिमा कार्यक्रमको सुविधा लिएका छन्। तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन्। रासस









