
अर्घाखाँची ।
पार्टी विरोधी क्रियाकलाप गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले जिल्लाका तिनजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधीमा संलग्न रहेको भन्दै नेकपा एमालेका तत्कालीन पूर्वजिल्ला सचिव रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धीप्रसाद भुसाललाई पार्टीबाट निष्कासन गरेको हो ।



पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमालेले बताएको छ । पार्टी अध्यक्ष चेतनारायण आचार्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तिहरूलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’
यसअघि माधव नेपाल निकट एमाले नेताहरूको भेलाले नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर समिटि गठन गरेको थियो ।










