
बुटवल
बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले २५ औं वर्ष प्रवेशका अवसरमा रजतजयन्ती समारोह तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष बाबुलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, विशिष्ट अतिथिमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी रहेका थिए ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले प्रदेश सरकारले अटो व्यवसायीको हकहितको लागि अभिभावकत्व ग्रहण गर्ने र त्यस क्षेत्रको विकासको लागि बजेटमा समावेश गर्ने बताए । उनले बुटवल अटोको विकासको लागि पहिलो प्राथमिकता बुटवल नगरपालिकाको भएकोले नगरले नसक्ने काम प्रदेश सरकारले गर्ने बताए ।
यस्तै विशिष्ट अथिति सुवेदीले बुटवल अटोमा काम गर्ने नागरिकहरु रोजगार विहीन हुन नपर्ने बताए । उनले अटो क्षेत्रमा सिसी क्यामेरा जडानको कार्य अघि बढेको र अटो पेभेलियन बनाउन सुझाव दिए ।
त्यस्तैगरी नेपाली कांग्रेसका खेलराज पाण्डेले बोल्दै बुटवल नगरपालिकाले आर्थिक रकमको ठूलो हिस्सा अटो क्षेत्रबाट उठ्ने तर तिनै अटो व्यवसायीलाई नगरपालिकाले वेवास्ता गरेको बताए । उनले अटोमा सुरक्षित अटो व्यवसायी हुनुपर्ने र नगरपालिकाले व्यवसायीलाई लिजमा राखिरहेको बताए ।
त्यस्तैगरी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमलाल भुसालले बुटवल अटो केन्द्रको राइट ह्याण्ड र दर्बिलो खम्बा भएको बताए । उनले बुटवल अटो भिलेजको प्रमुख जोन भएकोले संस्थाको २५ वर्षे रजतजयन्ती मनाउन पाउनु महासंघको लागि गौरबको कुरा भएको बताए ।
संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले अध्यक्षको प्रतिवेदन र महासचिव तुल्सीराम न्यौपानेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले प्रकाशन गरेको रजतजयन्ती स्मारिका र नयाँ बर्ष २०७८ को क्यालेण्डर समेत कार्यक्रममा बिमोचन गरिएको छ ।
कार्यक्रममा अटो क्षेत्रको बारेमा २२ मिनेट समयको बृत्तचित्र प्रशारण गरिएको थियो ।









