
प्युठान ।
आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा प्युठानमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको हो ।



बुवा पोखरामा काम गर्नका लागि गएको र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउन सके पनि दुवै बच्चालाई भने बचाउन नसकिएको स्थानियले बताएका छन् ।
गौमुखी गाउँपालिका वडा नं ३ रजवारा रिमबहादुर (रमेश) रानाको गोठमा भएको आगलागीमा परेर उनका सात वर्षीय छोरा हिमाल राना र २ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको लिवासे प्रहरी चौकीका सई हरि गुरुङले जानकारी दिए ।
घरदेखि केही टाढा रहेको गोठमा आगो बाल्ने क्रममा आगलागी भएको र उनीहरुको सबै शव जलेको अवस्थामा भेटिएको बताए ।
स्थानीयको पहलमा गोठमा भएका गाईवस्तुलाई जोगाउन सकेपनि आगलागी भएपछि गोठबाट भाग्न नसक्दा जलेको हुनसक्ने सई गुरुङले बताए ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले घरमा बुवा–आमा नभएको समयमा आगलागी भएको र बच्चा भाग्न नसक्दा जलेर यस्तो दुःखद घटना भएको बताए ।








