
काठमाण्डौ ।
४० देखि ५९ वर्ष उमेर समूहका नागरिक लाई आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेल लगाइने भएको छ ।
चिनियाँ कम्पनीको यो खोप यसअघि गएको २५ गते १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।



यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए।
उनका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।
चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो ।
यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।








