
अर्घाखाँची ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले निरन्तरता पाउने बताएका छन् ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उनले वर्तमान सरकारको बिरुद्धमा लागेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन नखोज्नु सरकार निरन्तरताको निम्ति बलियो प्रमाण भएको बताए।



माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री हुने तिब्र चाहना अरु दलले नपत्याए पछि चक्नाचुर भएको भन्दै उनले प्रचण्डले प्रधानमन्त्रीको लाईन छोडेर मिलिजुली सरकार बनाऔं भन्दा पनि अरु दलले बेवास्ता गरेको बताए ।
रायमाझीले नेपाली कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने कुरा असंभव भएको भन्दै वर्तमान सरकारले नै निर्वाचन गराउने ठोकुवा समेत गरे । प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई निरंकुश र अलोकतान्त्रिक भन्ने दलहरूले अहिले पछुतो मान्दै गएको उनको भनाई छ ।
नेकपा एमालेका नेता समेत रहेका रायमाझीले आफुले व्यक्तिगत स्वार्थलाई कहिल्यै नहेर्ने भन्दै राष्ट्र, राष्ट्रियता, बिकास र समृद्धिको निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए।
उनले पछिल्लो दशक अर्घाखाँचीमा कहिल्यै नभएको बिकास भएको भन्दै शिक्षा, स्वास्थ्य, यातायात, जलविद्युत, खानेपानी र सिंचाइका क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गरे।









